काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापनाको चार वर्ष पूरा नहुँदै आगामी असारमा पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । रास्वपा केन्द्रीय समितिको पछिल्लो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने औपचारिक निर्णय गरेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आफ्नो साङ्गठनिक संरचनालाई जगैदेखि मजबुत बनाउने उद्देश्यका साथ यो महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।
महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न पार्टीले सभापति रवि लामिछानेको संयोजकत्वमा 'महाधिवेशन मूल आयोजक समिति' गठन गरेको छ । यो समितिले महाधिवेशनको आन्तरिक कार्यविधि, व्यवस्थापन र प्रतिनिधि छनोटको सम्पूर्ण कमान्ड सम्हाल्नेछ । चितवनमा हुने उक्त तीन दिने महाधिवेशनमा देशभरका विभिन्न तह र तप्काबाट करिब २ हजार ५ सय प्रतिनिधिहरू सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ । स्थापनाको छोटो समयमै संसद्मा बलियो उपस्थितिसहित निर्णायक शक्तिका रूपमा स्थापित रास्वपाका लागि यो महाधिवेशन साङ्गठनिक सुदृढीकरणको महत्वपूर्ण कडी हुने देखिन्छ ।
पार्टीले यस महाधिवेशनलाई केवल नेतृत्व चयनमा मात्र सीमित नराखी आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा समेत बढावा दिने नीति लिएको छ । महाधिवेशनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुने गरी नेतृत्व छनोट प्रक्रिया अगाडि बढाइने पार्टीले जनाएको छ । परम्परागत राजनीतिक दलहरूको शैलीभन्दा फरक र पारदर्शी रूपमा नेतृत्व विकास गर्ने दाबी गरेको रास्वपाले चितवन महाधिवेशनमार्फत आफ्नो आगामी वैचारिक कार्यदिशा र रणनीतिक योजनासमेत पारित गर्ने लक्ष्य राखेको छ ।
