- साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले हराउँदै २०२६ फिफा विश्वकपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
- दुई गोलले पछि परेको अर्जेन्टिनाका लागि रोमेरो, मेसी र फर्नान्डेजले खेलको अन्तिम ११ मिनेटमा गोल गर्दै उत्कृष्ट पुनरागमन गरे।
- लियोनल मेसीले विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने र सर्वाधिक २१ गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाएका छन्।
- अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं। साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ चरणको खेलमा अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको १५औँ मिनेटमा यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको अर्जेन्टिनाविरुद्ध इजिप्टले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। खेलको ६७औँ मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गरेपछि इजिप्ट २–० ले अगाडि बढेको थियो।
दुई गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले खेलको अन्तिमतिर आक्रामक प्रदर्शन गर्यो। ७९औँ मिनेटमा कप्तान लियोनल मेसीको क्रसमा क्रिस्टियन रोमेरोले हेडरमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। त्यसको पाँच मिनेटपछि मेसी आफैंले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए।
बराबरीपछि थपिएको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित हात पारेको हो।
यस जितसँगै अर्जेन्टिना प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित इजिप्ट भने प्रतियोगिताबाट बाहिरिएको छ।
इजिप्टले यस विश्वकपमा ९२ वर्षपछि पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा स्थान बनाएको थियो। टोलीले नकआउट चरणमा पहिलो जित हासिल गर्ने सुनौलो अवसर पाएको भए पनि क्वार्टरफाइनलको यात्रा भने तय गर्न सकेन।
यस खेलमा एक गोल र एक असिस्ट गरेका लियोनल मेसीले विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने कीर्तिमान कायम गरेका छन्। उनी विश्वकप इतिहासमा सर्वाधिक ३१ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने तथा सर्वाधिक छ संस्करणको विश्वकप खेल्ने खेलाडीसमेत बनेका छन्।
मेसी विश्वकपको इतिहासमा लगातार छ वटा नकआउट चरणका खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। साथै, उनले विश्वकपमा सर्वाधिक नौ असिस्ट गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।
जारी विश्वकपमा आठ गोल गरिसकेका मेसी हाल सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन्।
