सारांश
  • रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेशका सांसदहरूलाई तत्काल आफ्नो क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम राख्न निर्देशन दिएका छन्।
  • संवादमार्फत समाजमा फैलिएको त्रास र विभाजन कम गर्दै नागरिकमा विश्वासको वातावरण निर्माण गर्न सभापतिले जोड दिएका छन्।
  • सांसदहरूलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायका अगुवासँग समन्वय गरी अफवाह रोक्न र शान्ति सुनिश्चित गर्न सक्रिय हुन भनिएको छ।
  • अपुष्ट सूचना र अफवाहले सामाजिक एकतामा असर पुग्ने भन्दै पार्टीले नागरिकलाई संयमित रहन र आधिकारिक जानकारी मात्र लिन आग्रह गरेको छ।

काठमाडौं । सुनसरीमा भएको घटनापछि सामाजिक सद्भावमा असर पर्न सक्ने चिन्ताका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूलाई तत्काल आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएर नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा आकस्मिक रूपमा बोलाइएको बैठकमा सभापति लामिछानेले पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी गराउँदै अहिलेको आवश्यकता राजनीतिक प्रतिक्रिया दिनुभन्दा समाजमा फैलिन सक्ने अविश्वास, डर र विभाजनलाई संवादमार्फत कम गर्नु रहेको बताएका थिए। उनले सांसदहरूलाई स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गर्न, सबै पक्षसँग समन्वय गर्न र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद रहवर अन्सारीले सभापति लामिछानेको मुख्य सन्देश समाजलाई विभाजित हुन नदिनु र समुदायबीचको विश्वासलाई बलियो बनाउनु रहेको बताए।

उनका अनुसार पार्टीले सांसदहरूलाई काठमाडौंमा बसेर घटनाबारे टिप्पणी गर्नेभन्दा आफ्ना जिल्ला र गाउँ–टोलमा पुगेर नागरिकको अवस्था बुझ्न, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवासँग समन्वय गर्न र कुनै पनि प्रकारको तनाव बढ्न नदिन पहल गर्न निर्देशन दिएको छ।

"सभापतिज्यूले हामीलाई आफ्ना क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम राख्न सकिने सबै प्रयासमा जुट्न भन्नुभएको छ," अन्सारीले भने। "यदि कसैले अफवाह फैलाउने, द्वेष सिर्जना गर्ने वा समाजलाई विभाजित गर्ने प्रयास गर्छ भने त्यसलाई जिम्मेवारीपूर्वक रोक्न र संवादमार्फत परिस्थिति सामान्य बनाउन सबै सांसद सक्रिय हुनुपर्ने उहाँको स्पष्ट निर्देशन छ।"

उनले पार्टीका सांसदहरू अब आ–आफ्नो जिल्लामा पुगेर स्थानीय प्रशासन र अन्य सरोकारवालासँग सहकार्य गर्दै शान्ति र सद्भाव कायम राख्ने अभियानमा सहभागी हुने जानकारी दिए।

अन्सारीले सुनसरीमा भएको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनालाई थप तनाव र ध्रुवीकरणको आधार बन्न दिन नहुने बताए।

"कुनै पनि नागरिकको ज्यान जानु अत्यन्त पीडादायी कुरा हो," उनले भने। "यस्तो घटनाले समाजमा आक्रोश र चिन्ता बढाउन सक्छ। त्यसैले अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी शान्ति कायम राख्नु, नागरिकलाई सत्यतथ्यमा आधारित सूचना उपलब्ध गराउनु र एकअर्काप्रति विश्वास कायम राख्नु हो।"

रास्वपाले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत फैलिरहेका अपुष्ट सूचना, उत्तेजनात्मक सामग्री र अफवाहप्रति पनि चिन्ता व्यक्त गरेको छ। पार्टीले यस्ता सामग्रीले समाजमा अनावश्यक डर, अविश्वास र विभाजन बढाउन सक्ने भएकाले नागरिकलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अपुष्ट सामग्री साझा नगर्न आग्रह गरेको छ।

पार्टी नेतृत्वले लोकतान्त्रिक समाजमा विचार फरक हुन सक्ने भए पनि त्यसलाई हिंसा, घृणा वा सामुदायिक विभाजनमा रूपान्तरण हुन नदिन सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिक उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखेको छ। साथै, संविधानले सुनिश्चित गरेको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको पनि पार्टीले जनाएको छ।

सुनसरी घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई ध्यानमा राख्दै रास्वपाले आफ्ना जनप्रतिनिधिलाई स्थानीय तहमा सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ। पार्टीको विश्वास छ कि जनप्रतिनिधि नागरिकको बीचमा पुगेर संवाद, सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सफल भए समाजमा फैलिन सक्ने तनाव कम गर्न र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ।

पूर्ण भारद्वाज
लेखक
पूर्ण भारद्वाज

पूर्ण भारद्वाज काठमाडौंस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी सामाजिक, राजनीतिक तथा समसामयिक विषयका विविध पक्षलाई समेट्दै विभिन्न समकालीन विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।