सारांश
  • नेपाल चलचित्र कलाकार संघले ३८औँ स्थापना दिवसको अवसरमा रक्तदान र बाढीपीडितका लागि राहत संकलन कार्यक्रम आयोजना गरेको छ।
  • चलचित्र विकास बोर्ड परिसरमा आयोजित कार्यक्रममा ८६ जनाले रक्तदान गरे भने संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
  • भोटेकोशी बाढीपीडितका लागि कलाकार र विभिन्न समूहहरूबाट करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ।
  • प्रमुख अतिथि भुवन चन्दले उद्घाटन गरेको कार्यक्रममा कलाकारहरूले सामाजिक उत्तरदायित्व पूरा गर्दै मानवीय सेवामा ऐक्यबद्धता जनाएका छन्।

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । संघले मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा बृहत् रक्तदान तथा भोटेकोशी बाढीपीडितका लागि राहत संकलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागितामा ८६ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा भोटेकोशी बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोगसमेत संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो ।

संघका अनुसार ‘हर्के हल्दार’ टिमले एक लाख ३३ हजार ३३३ रुपैयाँ तथा कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक लाख एक हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । अन्य सहयोगसमेत जोड्दा करिब चार लाख रुपैयाँ बराबरको राहत रकम संकलन भएको जनाइएको छ ।

संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष केसीले बताउनुभयो । भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनुका साथै अस्पतालमा हुने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

चलचित्र विकास बोर्डको सहकार्य तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । दागान अर्गानिक टीले विशेष सहयोग गरेको कार्यक्रममा चलचित्र अक्षरा टिम र ओम प्रिन्टको समेत सहयोग रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि प्रथम नेपाली अभिनेत्री तथा संघकी पूर्वसंरक्षक भुवन चन्दले संघका संस्थापक प्रथम अध्यक्ष शान्ति मास्केको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । त्यसपछि उहाँले संघका वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल ‘बैरागी’लाई रक्तथैली हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा चन्दले स्थापना दिवसका अवसरमा सामाजिक सेवामूलक कार्यक्रम आयोजना गर्नु सकारात्मक भएको बताउनुभयो । कलाकारहरू मनोरञ्जनको क्षेत्रमा मात्र सीमित नभई विपद्का समयमा समाजसँगै उभिनुपर्ने उहाँको भनाइ थियो । यस्ता कार्यक्रमले चलचित्र क्षेत्र र आम नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष शान्ति मास्के तथा कलाकार संघको स्थापना, उद्देश्य र नेपाली चलचित्र क्षेत्रमा संघले पुर्‍याउँदै आएको योगदानबारे वरिष्ठ कलाकार, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्ण मल्लले जानकारी गराउनुभएको थियो ।

संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राख्दै कलाकारको हकहित संरक्षण, सामाजिक उत्तरदायित्व र चलचित्र क्षेत्रको विकासमा संघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गर्नुभयो । संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने सामूहिक पहल सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष रविन्द्र खड्का, कृष्ण मल्ल र रमेश बुढाथोकी तथा सल्लाहकार एवं चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मानार्थ सदस्य डा. सुवास घिमिरे, डा. श्याम खड्का, द्वन्द्व निर्देशक उदय सिंह बोहरा तथा विशिष्ट चलचित्रकर्मी लय संग्रौला, राजु शाह, मुकुन्द आचार्य, उमेश खड्का, तारा शर्मा, रेजिना उप्रेती र रामकाजी घिमिरेलगायतको कार्यक्रममा उपस्थिति थियो ।

रक्तदान गर्ने कलाकार तथा अन्य रक्तदातालाई संघका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो भने उपाध्यक्ष पूजना स्त्रीले सहभागी, रक्तदाता, सहयोगी तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारसँगै समाजप्रतिको दायित्वलाई पनि संघले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नगरी सामाजिक, मानवीय तथा जनचेतनामूलक गतिविधिसँग जोड्दै लैजाने संघको नीति रहेको उहाँले बताउनुभयो ।

संघले आगामी दिनमा कलाकारको व्यावसायिक तथा सामाजिक भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।