सारांश
  • सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले सरकारी नीति तथा कार्यक्रममा नागरिक सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
  • धनगढीमा आयोजित दुईदिने तालिममा लोकतान्त्रिक व्यवस्था सुदृढीकरणका लागि नागरिक शिक्षा र सरकारसँगको सम्बन्धलाई प्रभावकारी बनाउन जोड दिइयो।
  • मन्त्री थापाले प्रदेश युवा परिषद्लाई बलियो बनाउने बताउँदै बजेट निर्माण प्रक्रियामा नागरिक र युवाका सुझाव समेट्न आग्रह गरे।
  • यूएनडीपी र स्वीस सरकारको सहयोगमा बास नेपालद्वारा आयोजित तालिममा प्रदेशका २५ जना सदस्यहरू सहभागी रहेका छन्।

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष शर्मा (थापाले) प्रदेश सरकारको नीति तथा कार्यक्रममा नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्।

धनगढीमा आयोजित बहुपक्षीय नागरिक सहभागिता तथा पैरवी मञ्च (Multi-Stakeholder Civic Engagement Advocacy Platform) का सदस्यहरूका लागि आयोजित दुईदिने तालिमको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री थापाले लोकतान्त्रिक व्यवस्थामा नागरिक शिक्षा अपरिहार्य रहेको बताए। उनले सरकार र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउन मञ्चले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नागरिक सहभागिता अभिवृद्धिका क्षेत्रमा क्रियाशील विभिन्न मञ्च तथा संस्थासँग सहकार्य गर्न सामाजिक विकास मन्त्रालय तयार रहेको बताउँदै मन्त्री थापाले आवश्यक विषयमा मन्त्रालयमा आएर छलफल गर्न आग्रह गरे।

उनले प्रदेश युवा परिषद्लाई थप बलियो र प्रभावकारी बनाउने योजना अघि बढिरहेको जानकारी दिए। प्रदेश सरकार बजेट निर्माणको प्रक्रियामा रहेकाले नागरिक सहभागिता तथा युवा क्षेत्रसँग सम्बन्धित आवश्यक सुझाव र योजना प्रस्तुत गर्न पनि उनले मञ्चका सदस्यहरूलाई आग्रह गरे।

कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका युवराज आचार्यले बहुपक्षीय नागरिक सहभागिता तथा पैरवी मञ्चको उद्देश्य, गठन प्रक्रिया र कार्यक्षेत्रबारे जानकारी गराएका थिए।

उद्घाटन सत्रमा प्रदेश युवा परिषद्का सदस्य प्रतिक्षा ओलीको समेत उपस्थिति थियो।

दुई दिनसम्म सञ्चालन हुने तालिममा यूएनडीपी नेपालका युवराज आचार्य र इना केरुङ तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले विभिन्न विषयमा सहजीकरण गरिरहेका छन्।

स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोग तथा यूएनडीपी नेपालको साझेदारीमा बास नेपालद्वारा सञ्चालित ‘लोकतान्त्रिक सहभागिता प्रवर्द्धनका लागि नागरिक संलग्नता अभिवृद्धि परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो।

तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट २५ जना मञ्चका सदस्यहरूको सहभागिता रहेको छ। तालिम असोज ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।