- नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा भव्य रूपमा उद्घाटन हुँदैछ।
- असोज २२ गतेसम्म चल्ने यस महाधिवेशनमा स्वदेश र विदेशबाट गरी करिब ७,५०० प्रतिनिधिहरू सहभागी हुनेछन्।
- नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने कार्यतालिका तय गरिएको छ।
- ट्राफिक व्यवस्थापनका लागि धरहरा, माइतीघर र दरबारमार्ग लगायतका विभिन्न स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।
महाधिवेशन असोज १८ देखि २२ गतेसम्म चल्नेछ। उद्घाटनपछि भोलिदेखि बन्दसत्र सुरु हुनेछ। महाधिवेशनमा देशभरका साथै विदेशस्थित जनसम्पर्क समितिबाट करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार अहिलेसम्म ७ हजार २८ जना प्रतिनिधिको सहभागिता पुष्टि भएको छ। उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विदेशबाट आएका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारीसाधन पार्किङका लागि काठमाडौँका विभिन्न स्थानमा व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा पार्किङस्थल तोकिएको हो।
उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडकको भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सवारी पार्किङ गर्न सकिनेछ।
पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको स्वाँरले बताए।
महाधिवेशनका लागि काठमाडौँमा प्रतिनिधिको आवागमन व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग समन्वय भइरहेको कांग्रेसले जनाएको छ। महाधिवेशनको निर्वाचन कार्यक्रम असोज २१ र २२ गते हुने कार्यतालिका छ।
