एटलान्टा/काठमाडौं । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनको मद्दतले इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा डीआर कंगोलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्डले अघिल्लो चरणको यात्रा तय गरेको हो।
राउण्ड अफ ३२ अन्तर्गतको यस खेलमा इङ्गल्याण्डले सुरुवाती संकटलाई पार गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्यो। यो जितसँगै उपाधि दावेदार इङ्गल्याण्डले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।
खेलको सुरुवातमै डीआर कंगोले अप्रत्याशित अग्रता लिँदै इङ्गल्याण्डलाई दबाबमा राखेको थियो। सातौं मिनेटमा कंगोका फरवार्ड ब्रायन सिपेङ्गाले इङ्गल्याण्डको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै गोल गरे। आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरण खेलिरहेको कंगोले पहिलो हाफभरि सटिक रक्षात्मक रणनीति र उच्च मनोबलका साथ इङ्गल्याण्डका प्रहारहरूलाई विफल तुल्याएको थियो।
विशेष गरी कंगोका गोलकिपर लियोनेल म्पासीले पहिलो हाफमा उत्कृष्ट बचाउ गर्दै इङ्गल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्घमका गोल गर्ने अवसरहरूलाई असफल पारिदिए। जसका कारण पहिलो हाफमा कंगो १–० ले अगाडि रह्यो।
दोस्रो हाफमा प्रशिक्षक थोमस टुचेलको रणनीतिअनुसार इङ्गल्याण्डले आक्रामक खेललाई थप तीव्र बनायो। खेलको ७५ औं मिनेटमा एन्थोनी गोर्डनको सटिक क्रसमा कप्तान ह्यारी केनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
त्यसको ११ मिनेटपछि, अर्थात् ८६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डको जित सुनिश्चित गरे। विश्वकपको इतिहासमा इङ्गल्याण्डले पहिलो हाफमा पछि परेर पनि खेल जितेको यो पहिलो अवसर हो।
पराजयका बावजुद कंगोले विश्वकपमा प्रदर्शन गरेको उच्च स्तर र संघर्षको खेल विश्लेषकहरूले उच्च प्रशंसा गरेका छन्। कंगोका गोलकिपर म्पासी यस प्रतियोगिताका उदाउँदो खेलाडीका रूपमा दरिएका छन्।
यस खेलको दुई गोलसँगै केनको जारी विश्वकपमा कुल ५ गोल पुगेको छ र उनी गोल्डेन बुटको दौडमा नर्वेका अर्लिङ हालान्डसँगै दोस्रो स्थानमा उक्लिएका छन्। हाल फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेस्सी ६–६ गोलका साथ शीर्ष स्थानमा छन्। साथै, विश्वकप इतिहासमा केनको कुल गोल संख्या १३ पुगेको छ, जसले उनलाई फ्रान्सका दिग्गज खेलाडी जस्त फोन्टेनको बराबरीमा ल्याएको छ।
अब क्वाटरफाइनल प्रवेशका लागि इङ्गल्याण्डले आगामी जुलाई ६ मा आयोजक राष्ट्र मेक्सिकोको सामना गर्नेछ।
