क्यालगरी (क्यानडा): विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि सामुदायिक संस्था केवल भेटघाटको माध्यम मात्र होइन, भाषा, संस्कृति, पहिचान र आपसी एकताको साझा आधार पनि हो। यही एकता र संस्थाप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्दै नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरी (एनसीएससी) को नयाँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा उल्लेखनीय ८६.३ प्रतिशत मतदाता सहभागी भएका छन्।

स्वतन्त्र तेस्रो-पक्षीय अनलाइन मतदान प्रणाली सिम्पली भोटिङ इन्क. मार्फत सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार घनेन्द्र न्यौपाने ७५३ मत (५६.४ प्रतिशत) प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी सूर्य अधिकारी ले ५८३ मत (४३.६ प्रतिशत) प्राप्त गरे।

निर्वाचन समितिका अनुसार संस्थामा दर्ता भएका १ हजार ५ सय ७६ मतदातामध्ये १ हजार ३ सय ६० जनाले मतदान गरेका थिए। विदेशस्थित नेपाली समुदायको सन्दर्भमा यस्तो उच्च मतदानलाई संस्थाप्रतिको विश्वास, उत्तरदायित्व र सामुदायिक सक्रियताको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

उपाध्यक्षमा अरुण लामा ७०२ मत (५३.२ प्रतिशत) प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिस्पर्धी युवराज गुरुङ ले ६१८ मत (४६.८ प्रतिशत) प्राप्त गरे।

सचिव पदमा विश्वनाथ भण्डारी ७०१ मत (५३.५ प्रतिशत) सहित विजयी भए। उनका प्रतिस्पर्धी सुमन चौलागाईं ले ६१० मत (४६.५ प्रतिशत) प्राप्त गरे।

कोषाध्यक्षमा ध्रुव निरौला ६६६ मत (५१.२ प्रतिशत) प्राप्त गर्दै निर्वाचित भए। उनकी प्रतिस्पर्धी श्रद्धा रूपाखेती ले ६३६ मत (४८.८ प्रतिशत) प्राप्त गरिन्। यो पदको प्रतिस्पर्धा पनि निकै रोचक रह्यो।

सह–सचिवमा रमेश बस्नेत ७७६ मत (६०.५ प्रतिशत) सहित विजयी भए। उनका प्रतिस्पर्धी नवीन पौडेल ले ५०७ मत (३९.५ प्रतिशत) प्राप्त गरे।

कार्यक्रम संयोजकमा कृष्ण गौतम ७१० मत (५४.३ प्रतिशत) सहित निर्वाचित भए। किसन गुरुङ ले ५९८ मत (४५.७ प्रतिशत) प्राप्त गरे।

मिडिया संयोजकमा कमल पौडेल ७९३ मत (६१.७ प्रतिशत) सहित विजयी भए। उनकी प्रतिस्पर्धी लक्ष्मी लम्साल खनाल ले ४९३ मत (३८.३ प्रतिशत) प्राप्त गरिन्।

महिला संयोजक पदको प्रतिस्पर्धा निर्वाचनकै सबैभन्दा रोमाञ्चक बन्यो। गीता शर्मा ले ६६० मत (५०.८ प्रतिशत) प्राप्त गर्दै नारायणी अधिकारी ढकाल लाई २० मतको झिनो अन्तरले पराजित गरिन्। ढकालले ६४० मत (४९.२ प्रतिशत) प्राप्त गरेकी थिइन्। यसले प्रत्येक मतको महत्वलाई स्पष्ट रूपमा उजागर गरेको छ।

संस्कृति तथा सम्पदा संयोजकमा पूजा शिवाकोटी ७६२ मत (५९.५ प्रतिशत) सहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी कृष्ण पौडेल ले ५१९ मत (४०.५ प्रतिशत) प्राप्त गरे।

युवा तथा खेलकुद संयोजकमा योगेन्द्र खत्री ७६३ मत (५९.१ प्रतिशत) सहित विजयी भए। सन्तोष देवकोटा ले ५२७ मत (४०.९ प्रतिशत) प्राप्त गरे।

ज्येष्ठ नागरिक तथा नवआगन्तुक संयोजकमा भीमलाल अर्याल ७९४ मत (६१ प्रतिशत) प्राप्त गर्दै निर्वाचित भए। उनकी प्रतिस्पर्धी डायना ताम्राकार ले ५०८ मत (३९ प्रतिशत) प्राप्त गरिन्।

नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरी अल्बर्टा प्रान्तमा बसोबास गर्ने नेपालीहरूको साझा गैर–नाफामूलक संस्था हो। संस्थाले नेपाली भाषा, कला, संस्कृति तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनका साथै नवआगन्तुक नेपालीहरूको सहजीकरण, सामुदायिक एकता अभिवृद्धि तथा बालबालिकाका लागि नेपाली भाषा कक्षालगायत विविध सामाजिक, शैक्षिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संस्थाले हरेक वर्ष आयोजना गर्ने नेपाली मेला क्यालगरीको नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवका रूपमा परिचित छ। यस मेलामार्फत नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको प्रवर्द्धन हुनुका साथै क्यानडाको बहुसांस्कृतिक समाजसँग नेपाली समुदायको सम्बन्ध अझ सुदृढ बनाउन योगदान पुग्दै आएको छ।

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा संस्थागत सुशासनलाई थप सुदृढ बनाउने, सदस्यहरूको सहभागिता विस्तार गर्ने, युवा पुस्तालाई संस्थासँग अझ प्रभावकारी रूपमा जोड्ने तथा नवआगन्तुक नेपालीहरूको हितमा केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। शनिबार सम्पन्न निर्वाचनमा देखिएको उत्साहजनक सहभागिताले क्यालगरीस्थित नेपाली समुदाय आफ्नो साझा संस्था, भाषा, संस्कृति र सामाजिक एकताप्रति अझै दृढ र प्रतिबद्ध रहेको सन्देश दिएको छ।

अमृत क्षेत्री
लेखक
अमृत क्षेत्री

अमृत क्षेत्री क्यानडामा आधारित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी नेपाल, क्यानडा तथा नेपाली डायस्पोरासँग सम्बन्धित विविध विषयमा समाचार तथा लेखहरू सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।